Comments Add Comment

राष्ट्रिय सभा उपनिर्वाचनमा विवेकशील साझाले भोट नहाल्ने

काठमाडौं, ६ जेठ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा विवेकशील साझा पार्टीले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने भएको छ।

नो भोट लागू गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न उक्त पार्टीले माग गरेको छ।

बागमती प्रदेश अन्तर्गत अन्यतर्फ रिक्त एक पदमा आज उपनिर्वाचन हुँदैछ।

यहाँ विवेकशील साझाका ३ जना प्रदेश सभा सदस्य मतदाता छन् तर उनीहरूले आज मतदान नगर्ने भएका हुन्।

‘विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ भन्ने मान्यता राख्दछ। कार्यपालिका (प्रधानमन्त्री)को चयनमा प्रत्यक्ष भूमिका नहुने सदन भएका कारण पनि राष्ट्रिय सभा सदस्यहरूले कतिपय अवस्थामा दलीय स्वार्थ भन्दा माथि उठी मुलुक र नागरिकको हितमा भूमिका खेल्न सक्नुपर्दछ भन्ने हामीलाई लाग्दछ,’ उक्त पार्टीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागू गर्न पनि सरकार तथा निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय भएको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘यस राष्ट्रिय सभाको निर्वाचनसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ अर्थात् नो भोटको विकल्प सामेल नगरिनु खेदजनक छ,’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै