Comments Add Comment

राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

काठमाडौं । भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई नियुक्त गर्न बाटो खोलेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र राईले युवा तथा खेलकुद मन्त्रालयले पारित गरी आएको पत्र क्यानलाई पठाइसकिएको जानकारी दिएका छन । ‘प्रारम्भिक सहमति आएको छ । अब सम्झौता गरी औपचारिक रुपमा प्रशिक्षण सुरु गर्न पाउनुहुन्छ । थप केही प्रक्रियाहरु चल्दै गर्नेछन्’, राईले भने ।

औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।

लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।

नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिले २४ पुसमा राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो । एक साताको समयमा आवेदन दिएका २४ जनामध्येबाट सर्टलिष्टमा परेका ५ जनाको ४ माघमा अन्तर्वार्ता लिइएको थियो ।

आवेदन दिएकामध्ये भारती प्रशिक्षक मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलंकाका महान बलर धम्मिका प्रसाद, बंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग अन्तर्वार्ता लिइएको हो ।

क्यानको प्रशिक्षक छनोट समितिले मोन्टीको नाम सिफारिस गरेपछि कार्यसम्पादन समितिले निर्णय गरी ११ माघमा राखेपलाई सहमतिका लागि पठाएको थियो । राखेपले मन्त्रालय पठाए पनि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हालेको हुनाले गत विहीबार प्रधानमन्त्री कार्यालय पुगेको प्रशिक्षक नियुक्ति फाइल शुक्रबार सदर भएर आइतबार राखेप आएको हो ।a

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै