Comments Add Comment

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेट

काठमाडौं, २ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरूबीच बिहान ११ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल-भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा राखेका थिए ।

भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर-कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए । जयनगर-कुर्था रेलको सञ्चालन भारतीय कम्पनी ‘केआरसीएल’ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाएका हुन् ।

उनले रेलवे सञ्चालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेलवे अप्रेसनको काम गर्न सक्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेलवे सञ्चालनका लागि दक्ष बनाउने कुरा सकारात्मक र महत्त्वपूर्ण भएको बताए ।त्यसलाई आफूहरूले आत्मसाथ गर्ने श्रेष्ठको भनाइ थियो ।शिष्टाचार भेटका क्रममा रक्सौल-काठमाडौं रेलवे निर्माण सम्बन्धमा पनि प्रारम्भीक छलफल भएको छ ।

क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राखेका थिए । जवाफमा श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने बताए ।

श्रेष्ठ र क्वात्राबीच नेपालको आर्थिक समृद्धिको विषयमा द्विपक्षीय वार्ताका माध्यमबाट अघि बढ्नेबारे खुलेर छलफल भएको थियो । त्यस्तै नेपाल र भारतबीच विभिन्न समयमा भएका सन्धी सम्झौताको विषयमा पनि द्विपक्षीय छलफल गरेर अघि बढ्ने छलफल भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले यसअघि पनि भारतीय राजदूतसँग रेलवे सेवा तथा भारतद्वारा लगानी भएका विभिन्न आयोजना सम्बन्धमा कुरा उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै