Comments Add Comment

मिटरब्याजीहरूलाई कारबाही गर्न ऐन बनाउने प्रक्रिया अन्तिम चरणमा छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितलाई न्याय दिन सरकार गम्भीर रहेको बताएका छन्।

शनिबार बिहान बालुवाटारमा मिटर ब्याज पीडितलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीहरूलाई कारबाही गर्न ऐन बनाउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन्।

‘मिटरब्याजीहरूलाई कानूनी दायरमा ल्याउन अन्तिम चरणमा छ। ‘तपाईँहरूको पनि सुझाव लिएर प्रभावकारी ढंगले व्यावहारिक ढंगले कार्यान्वयन गर्न सकिन्छ कारबाही गर्नुपर्छ,’ उनले भने, ‘मिटर ब्याज पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न ऐन नै छैन। म आएपछि ऐन बनाउने ऐनको ड्राफ्ट अन्तिम चरणमा छ। अहिले समाधान भएन भने पछि पनि समाधान हुँदैन।’

प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीहरूको कनेक्सन प्रहरी, प्रशासन र राज्यसँग रहेको बताएका छन्। ‘मिटर ब्याजको समस्या समाधान गर्न सजिलो रहेनछ। उनीहरूको राज्य, प्रशासन र प्रहरीसँग कनेक्सन र सेटिङ हुने रहेछ। मैले बुझिसकेको छु। सबै प्रहरी, हाकिम त्यस्ता छन् भनेको होइन। तर, पावर प्रयोग गरेर तपाईँहरूमाथि अत्याचार गर्ने कुरालाई बचाइ राख्न चाहन्छन्। तपाईँहरूका माग पूरा गर्न म तयार छु। तपाईँहरू ढुक्क भए हुन्छ। यो ठूलो लडाईँ हो। यो ब्याटल हामीले जित्नुपर्छ,’ उनले भने।

उनले मिटर ब्याजी पीडितलाई न्याय दिन नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याएको बताए। ‘हिजो सरकारलाई पूर्णता दिने क्रममा गृह मन्त्रालय हाम्रै साथीलाई दिएको छ। उहाँको उदेश्य मिटरब्याज पीडितहरूको समस्या समाधान गर्ने कुरालाई मैले आफ्नो एजेण्डाको पहिलो नम्बरमा बोलिसक्नुभएको छ। यो पनि तपाईंहरूको समस्या समाधानका लागि सरकार गम्भीर छ भन्ने प्रमाण हो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै