Comments Add Comment

नयाँ प्रशिक्षकको नियुक्तिसँगै मछिन्द्रको दोस्रो जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले दोस्रो जित हात पारेको छ । त्यस क्रममा उसले दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २–१ ले पराजित गरेको छ ।

आइतबार नियुक्त भएका प्रशिक्षक किशोर केसीले टचलाइनमा जिम्मेवारी सम्हालेकै दिन मछिन्द्रले जित निकालेको हो ।

मछिन्द्रलाई जिताउन विमल घर्ती मगर र ओलावाले आफिजले गोल गरे । संकटाका लागि भने मनिष डाँगीले गोल गरे पनि त्यो गोलले टिमको हार टार्न सकेन ।

खेलको १९ औं मिनेटमा विमलले मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । मिडफिल्डबाट आएको बललाई अघि बढाउने क्रममा गोलरक्षकलाई बिट गर्दै सहजै फिनिस गरे ।

तर त्यसको २ मिनेट नबित्दै मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै संकटालाई खेलमा फर्काए । आयुषले दिएको पासलाई मनिषले नियन्त्रणमा लिंदै बायाँ खुट्टाले गरेको प्रहार गोल भएको थियो ।

दोस्रो हाफको ४५ सेकेन्ड नबित्दै मच्छिन्द्रले पुनः अग्रता लियो । निसेन सुब्बाको लो क्रसलाई आफिजले पहिलो टचमै पोस्टतर्फ प्रहार गरेका थिए ।

यस जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अंकसाथ सातौं स्थानमा उक्लिएको छ । संकटा पनि समान ९ अंकाका साथ आठौं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै