Comments Add Comment

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेक नारायण पाण्डे लगायतका ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सरकारी संयन्त्रमै रहेका पदाधिकारीको मिलेमतोमा १४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो । सोही प्रकरणमा मिलेमतो गरी ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो । सोही रायका आधारमा सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ जना र फरार रहेका १४ गरी कुल ३० जनाविरुद्ध चारवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो । बयान र थुनछेक प्रयोजनका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेसी तोकिएको छ । गोला प्रकृयाबाट भएको पेसीमा न्यायाधीश न्यौपानेको इजलासमा उक्त मुद्दा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै