Comments Add Comment

आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको हो ।

आयरल्यान्डका लागि गाभिन होएले अर्धशतकीय पाली खेले । उनले ५९ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए । कप्तान निल रकले पनि टोलीको खातामा ४५ रन थपे । लियाम म्याकार्थीले पनि ३५ रन बटुले । पिटर मुरले १७ रन बनाए ।

आयरल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर साहब आलम र रिजन ढकालले तीन(तीन विकेट लिए । साहब आलमले १० ओभरमा एक मेडन राख्दै ३५ रन खर्चिए ।

रिजन ढकालले भने आठ ओभरमा ३० रन खर्चिएका थिए । यसका अतिरिक्त मौसम ढकालले पनि दुई विकेट हात पारे । कमलसिंह ऐरीले पनि एक विकेट लिए । आयरल्यान्डले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो ।

आयरल्यान्डका ओपनर जेम्स म्याकुलुमलाई साहब आलमले रनआउट गराएका थिए । जेम्स खाता खोल्नुअघि नै रनआउट भई पेभेलियन फर्किएका थिए । पहिलो ओभरको पाँचौँ बलमा जेम्स आउट हुँदा आयरल्यान्डले एक रनमात्र बनाएको थियो ।

त्यसअघि आयरल्यान्डले दोस्रो विकेटका साहब आलमले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीलाई दुई रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारे । ४.२ ओभरमा स्टिफन आउट हुँदा आयरल्यान्डले ११ रन बनाएको थियो ।

आयरल्यान्डको तेस्रो विकेट रिजन ढकालले लिएका हुन् । रिजनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरलाई मौसम ढकालद्वारा क्याच गराएका थिए । पिटरले पेभेलियन फर्किनुअघि १७ बलमा तीन चौकाको मद्दतले १७ रन बनाएका थिए । छैटौँ ओभरको अन्तिम बलमा पिटर आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो ।

त्यसलगत्तै आयरल्यान्डका अर्का ब्याट्सम्यान मोर्गन टपिङ पनि पेभेलियन फर्किएका थिए । चौथो नम्बरका ब्याट्सम्यान मोर्गनलाई दुई रनको ब्यक्तिगत स्कोरमा साहब आलमले कप्तान विनोद भण्डारीद्वारा क्याच गराएका थिए । ६.४ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो । साहब आलमले लिएको यो दोस्रो विकेट थियो ।

यसअघि बुधबार खेलिएको पहिलो एकदिवसीय खेलमा नेपाल २१ रनले पराजित भएको थियो । नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । तेस्रो एकदिवसीय खेल आइतबार खेलिने छ । यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा आयरल्यान्ड ‘ए’ २–१ ले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै