Comments Add Comment

२९ पटक सगरमाथा आरोहण गर्दै कामिरिता

काठमाडौँ । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा छन् ।

गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेकेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा छन् । सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् ।

वसन्त यामको सगरमाथा आरोहणका लागि एकसाताअघि काठमाडौँबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा आधार शिविर पुग्नुभएका कामिरिताले भने, “यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ । यति, उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाऊँ कति सकिन्छ ।” करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तरखरमा रहेका आरोही कामिरिताले जानकारी दिए । सेभेन समिट ट्रेक्स प्रालिमार्फत उनी आरोहणका लागि शिखरतर्फ जाने तयारीमा छन् ।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले आफ्नो कम्पनीमार्फत कामिरिता २९औँ आरोहणका लागि आधार शिविर आइपुगेको बताए । उनका अनुसार अहिले अधिकांश आरोही सगरमाथा आधार शिविर पुगेका छन् । उनीहरु आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन् । सेभेन समिटमार्फत मात्रै ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन् । खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आएका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय उनले यसवर्ष सफल आरोहण गरेमा आफ्नै कीर्तिमानी तोडिनेछ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए । पासाङ दावाले यसपटक सगरमाथा आरोहण गर्ने या नगर्ने टुङ्गो छैन । “सगरमाथा आरोहणका लागि जाँदैछु, मेरो अरू उद्देश्य छैन”, कामिरिताले भने, “हिमाल आरोहणको पेसालाई निरन्तरता मात्र दिएको हुँ, म कीर्तिमानीका लागि सगरमाथा गएको हैन ।”

मौसमले साथ दिएमा यो वर्ष उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथा चुचुरोमा पाइला टेक्ने कामिरिताको विश्वास छ । उनले भने, “अघिल्लो आरोहणमा बढी चिसो भएको थियो, त्यसैले आरोहणमा केही असहजता थियो, आशा गरौँ यो पटक मौसमले साथ दिनेछ ।” सगरमाथा आरोहणमा जाँदा खुम्बु आइसफल निकै जोखिमपूर्ण भएकाले विशेष सतर्कता अपनाउन आरोहीलाई उनको सुझाव छ । सगरमाथा आरोहणमा हुनसक्ने विकृति रोक्न आरोहीको निगरानी र व्यवस्थापनमा सरकारी निकायले विशेष ध्यान दिन जरुरी भएको उनको भनाइ छ ।

सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चीज दिएको छ । हिमाललाई दुहुना गाईका रूपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै