Comments Add Comment

काठमाडौं आधिकारिकरुपमै ‘फिल्मको रचनात्मक सहर’

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को नयाँ सदस्य काठमाडौं महानगरपालिकालाई प्रमाणपत्र प्रदान गरेको छ ।

काठमाडौंमा आयोजित समारोहमा युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले महानगर उपप्रमुख सुनिता डंगोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गरे । उक्त अवसरमा क्रिएटिभ सहरको लोगो समेत सार्वजनिक गरियो ।

सो अवसरमा महानगरले फिल्मका संघसंस्थालाई बोलाएर क्रिएटिभ सिटीको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा छलफल चलाएको थियो । सहभागी फिल्ममेकरले कार्यपत्र प्रस्तुत गर्दै सुझाव समेत पेश गरेका थिए ।

सर्टिफिकेट प्रदान गर्दै युनेस्को प्रमुख क्रफ्टले काठमाडौंमा फिल्मको सम्भावना उज्वल रहेको बताए । धेरै लगानीकर्ताको ध्यान ऊर्जाजस्ता क्षेत्रमा रहेपनि फिल्मजस्ता सफ्टपावरमा पनि विकास जरुरी रहेको उनले बताए ।

उपप्रमुख डंगोलले सरोकारवालाको ज्ञान र सीपलाई महानगरले उपयोग गर्ने बताइन् । उनले यी ज्ञान र सीपलाई अन्तर्राष्ट्रिय सञ्जालमा समेत प्रस्तुत गर्ने बताइन् ।

उक्त अवसरमा चलचित्र विकास बोर्डका सदस्य-सचिव राजेशकुमार थापासहित केही फिल्ममेकरले कार्यपत्र प्रस्तुत गरे । थापाले फिल्म नीतिमा क्रिएटिभ सिटीको अवधारणा समावेश गरेर फिल्म क्षेत्रको विकास गर्नुपर्ने धारणा राखे ।

फिल्म निर्देशक मोहन राईले अमेरिकाको न्युयोर्क र दक्षिण कोरियाको बुसान सहरको उदाहरण पेश गरे । ती सहरलाई सिर्जनात्मक सहरको रुपमा कसरी महानगरले स्थापित गर्‍यो भन्ने उदाहरण दिंदै उनले यो कार्य काठमाडौंलाई पनि अनुकरणीय हुने उल्लेख गरे ।

फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरी र नगरपालिका संघको कार्यकारी निर्देशक कलानिधि देवकोटाले पनि यसबारे धारणा राखे । नीति संवाद नाम दिइएको उक्त समारोहमा फिल्मसम्बद्ध व्यक्ति र संस्थाले विभिन्न सुझाव दिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै