Comments Add Comment

मधेस सरकारका प्रेस सल्लाहकार अग्रहरीले दिए राजीनामा

काठमाडौँ । जनता समाजवादी पार्टी नेतृत्वमा रहेको मधेस प्रदेश सरकारका प्रेस सल्लाहकार सीताराम अग्रहरीले राजीनामा दिएका छन् । मधेस सरकारमा आफ्नो क्षमता प्रयोग गर्न नसकेको भन्दै उनले हिजो आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनले भनेका छन्, ‘करिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दैछु । आफैसँग खुसी छैन, दुःख लाग्दछ सोचेको केही हुन सकेन । मेरो क्षमताको एक अंश पनि उपयोग हुन सकेन ।’

गोरखापत्रका पूर्वप्रधान सम्पादक समेत रहेका अग्रहरीले आफू त्यहाँ रहँदा सरकारले कुनै पनि सल्लाह नलिएको र आफूले दिँदा पनि त्यसको कुनै कार्यान्वयन नभएको उनले बताए ।

रातोपाटीसँग कुरा गर्दै उनले आफू सुरुमै त्यहाँबाट निस्कन चाहेको भए पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले नछाड्न भनेका कारण बसेको बताए । तर अहिले सरकारको रवैयाका कारण राजीनामा दिएर हिँडेको उनले बताए ।

उनले मधेस सरकारको नेतृत्व लगायत कोही पनि इमानदार नरहेको बताउँदै त्यहाँका सरकारी कर्मचारी पनि त्यस्तै रहेको टिप्पणी गरे ।

मधेसी जनताले गरेको अपेक्षाअनुसार सरकार र सरकारका मन्त्रीहरूले काम नगरेको बताउँदै अग्रहरीले त्यो दोषको भागिदार आफू बन्न नचाहेर राजीनामा दिएको बताए । उनले भने, ‘मैले सबैलाई नजिकबाट हेरेँ, त्यहाँ समर्पण र त्यागको कमी छ, बडो दुःख लाग्दो स्थिति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै