काठमाडौं । व्यापारिक घराना एमएस ग्रुपको भगिनी संस्था क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले नेपालमा पहिलो पटक जेडब्लू म्यारियट’ ब्रान्ड भित्र्याउने भएको छ ।
हस्पिटालिटीले म्यारिअट इन्टरनेसनलसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । यी दुई कम्पनीबीचको यो चौथो सहकार्य हो । जसले नेपालको लक्जरी आतिथ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा थपेको क्यापिटल होटल एण्ड हस्पिटालिटी लिमिटेडले जनाएको छ ।
कम्पनीका अनुसार सन् २०३१ को सुरुवातसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जेडब्लू म्यारिअट होटल काठमाडौंमा २२१ लक्जरी कोठा रहनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ मिनेटको दूरीमा रहने होटलबाट काठमाडौंका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल र सांस्कृतिक केन्द्रमा सहज पहुँच पुग्ने समेत कम्पनीले उल्लेख गरेका छन् । होटेलमा विभिन्न प्रकारका डाइनिङ आउटलेट, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल, ‘जेडब्लू गार्डेन’ र १,६०० वर्ग मिटरभन्दा बढीको हल उपलब्ध हुने बताइएको छ ।
उक्त होटल व्यवस्थापन सम्झौतामा क्यापिटल होटल एण्ड हस्पिटालिटीका प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारिअट एसिया प्यासिफिक (चीन बाहेक) का अध्यक्ष राज मेनलगायतले हस्ताक्षर गरे ।
उता, क्यापिटल होटलका तर्फबाट शशिकान्त अग्रवाल र म्यारिअट इन्टरनेसनलका तर्फबाट डेभिड म्यारिअटबीच समेत थप सम्झौता भएको छ । कार्यक्रममा सांसद मिङ्मा डेभिड शेर्पा समेत उपस्थित थिए ।
म्यारिअटसँगको पुनः सहकार्यले नेपालमा थप लक्जरी सेवा उत्पादनको अवसर सिर्जना गरेको र यसले नेपालको पर्यटनमा महत्त्वपूर्ण योगदान दिने प्रवन्ध निर्देशक अग्रवालले बताए । दक्षिण एसियामा म्यारिअट इन्टरनेसनलको द्रुत रूपमा विस्तार भइरहेको पोर्टफोलियोको पछिल्लो कडी हुने कम्पनीको भनाइ छ ।