काठमाडौँ । नेपाल-फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन्। बुधबार काठमाडौँमा सम्पन्न चेम्बरको चौथो वार्षिक साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिमा राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्य तथा मुकुन्दप्रसाद तिमिल्सिनालाई निवर्तमान अध्यक्षको जिम्मेवारी दिइएको छ। वरिष्ठ उपाध्यक्षमा विश्वेश श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा सुजीत शाक्य र शक्तिकुमार बेगानी निर्वाचित भएका छन्।
त्यस्तै, महासचिवमा सीताराम थापा, कोषाध्यक्षमा नीतु कयाल तथा सचिवमा स्कन्द अमात्य र नीलकृष्ण ताम्राकार चयन भएका छन्। कार्यसमिति सदस्यमा दीपेन्द्र सिग्देल, उरुषा चापागाईं, भरत श्रेष्ठ, प्रकाशविक्रम खत्री, शिव ढकाल, उत्तम सिवाल, चेतन भण्डारी, राजेश लामा, सोफिया उपाध्याय, सञ्जीवकुमार पाण्डे, गोर्मेटे दोर्जे श्रेष्ठ, उद्धव बर्तौला, आस्मा पौड्याल, निरज तिमिल्सिना, दीपेन्द्र श्रेष्ठ, राकेश अडुकिया, अग्रिम कार्की, श्याम कँडेल र तोरिशा जी सदस्य रहेका छन्।
साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष पाण्डेले नेपाल-फिनल्यान्ड चेम्बर सन् २०२२ मा दुई देशबीच आर्थिक कूटनीति र व्यापारिक साझेदारी सुदृढ बनाउने उद्देश्यले स्थापना भएको उल्लेख गर्दै चेम्बरलाई संवादमा मात्र सीमित नराखी व्यावसायिक सहकार्य, अवसर पहिचान र साझेदारीलाई व्यवहारमा उतार्ने सक्रिय मञ्चका रूपमा अघि बढाउने बताए।
नेपाल र फिनल्यान्डबीच व्यापार, शिक्षा, संस्कृति तथा अन्य क्षेत्रमा सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको भए पनि द्विपक्षीय आर्थिक सम्बन्धको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको उनको भनाइ थियो। आगामी दिनमा नेपाली वस्तुको फिनल्यान्ड बजारमा निर्यात प्रवर्द्धन, व्यापारिक सम्बन्ध विस्तार तथा लगानीका अवसर सिर्जना गर्न चेम्बरले प्राथमिकता दिने उनले बताए।
पर्यटन, व्यापार, लगानी, नवप्रवर्तन, दिगोपन तथा प्रविधिका क्षेत्रमा सहकार्यका व्यापक सम्भावना रहेको उल्लेख गर्दै पाण्डेले फिनल्यान्डको प्रविधि, नवप्रवर्तन र दिगो विकाससम्बन्धी अनुभव तथा नेपालको प्राकृतिक स्रोत, पर्यटन र उत्पादन क्षमतालाई जोडेर नयाँ साझेदारी निर्माण गर्न सकिने धारणा राखे।