काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ ।
उनले भने, ‘जिल्ला दैवी प्रकोप उद्धार समितिले ब्लास्ट गर्ने निर्णय गरेको छ । यसका लागि नेपाली सेनासँग अनुरोध गर्ने निर्णय भएको छ । काठमाडौंबाट सेनाको विस्फोट गर्ने प्राविधिक टोली आएर थुनिएको नदी विस्फोट गरेर आजै खोल्ने तयारी छ ।’
उनका अनुसार विस्फोटका लागि आवश्यक पदार्थ मनाङकै स्थानीय तहसँग छ ।
आइतबार ठाडो खोला र घट्टे खोलामा बाढी आएर कटान तथा घर, पुल, सडकमा क्षति पुर्याएको थियो । आइतबार साँझ घट्टे खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएको थियो ।
मर्स्याङ्दी नदी थुनिएपछि स्थानीयहरू डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका थिए । मौसम खुलेसँगै चामेवासीहरू आज बिहानै घर फर्किएका थिए ।