काठमाडौं । बाढीपिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजामती कर्मचारीबाट ३६ करोड रुपैयाँ बराबर योगदान हुने भएको छ । आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस रकम बराबरको योगदान कोषमा गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको २ दिनको तलब योगदान गरिने छ । राजपत्र अनंकित कर्मचारी वा सोसरहको ५ दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट ७ दिनको तलब योगदान गरिने भएको छ ।
राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको पारिश्रमिक योगदान गर्ने निर्णय सचिव बैठकले गरेको हो । उक्त रकम अर्थ मन्त्रालय र महालेखाले कोषमा जम्मा पार्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
त्यस्तै प्रदेश सरकार र स्थानीय तह तथा सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ ।