×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

स्वास्थ्य

मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य

मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य

काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ ।

काउन्सिलले सुचना जारी गर्दै यस्ता प्रमाणपत्रका लागि आवेदन दिँदा प्यान र कर चुक्ता प्रमाणपत्रसहित आवश्यक थप कागजात पेस गर्न चिकित्सक तथा सेवाग्राहीलाई आग्रह गरेको हो । यो व्यवस्था मंसिर १५ गतेदेखि लागु हुने काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार नेपाल सरकार, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागबाट विभिन्न समयमा भएका पत्राचार तथा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ मा उल्लेखित व्यवस्थाको कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको हो ।

सूचनाअनुसार काउन्सिलबाट जारी हुने सबै प्रकारका प्रमाणपत्रका लागि स्थायी लेखा नम्बर (प्यान), त्यसको प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

‘गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि भने थप कागजात आवश्यक पर्नेछ । नेपालमै कार्यरत चिकित्सकले आफू कार्यरत संस्थाबाट जारी भएको रोजगारसम्बन्धी पत्र पेस गर्नुपर्नेछ । उक्त पत्रमा चिकित्सक सो संस्थामा कार्यरत रहेको स्पष्ट खुल्नुपर्नेछ,’ सूचनामा भनिएको छ  ।

विदेशमा कार्यरत चिकित्सकले सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी भएको गुड स्ट्यान्डिङ प्रमाणपत्र बुझाउनुपर्नेछ । त्यस्तै, तोकिएको अवधिमा कुनै रोजगारीमा संलग्न नभएका चिकित्सकले आफू रोजगारीमा नरहेको स्पष्ट खुलाएर आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ ।

आवेदनमा दिइएका विवरण वा पेस गरिएका कागजात झुटा अथवा गलत ठहरिएमा सम्बन्धित अवधिमा रोजगारीमा संलग्न रहेको प्रमाण भेटिएमा प्रचलित कानुन तथा नियमावलीअनुसार कारबाही गरिने काउन्सिलले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्