धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेको छ । बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
महाशाखाले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।