काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको छ । आगामी असोज १६–१९ सम्म चय भएको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको हो ।
पार्टीले महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा आयोजना गरिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसका एक पदाधिकारीले महाधिवेशनअन्तर्गत बन्दसत्र पनि खुलामञ्चमै हुने बताएका छन् ।
कार्यवाहक मुख्य सचिव दुलालले चुनावी कार्यक्रम स्थलबारे भने निर्णय गर्न बाँकी छ । कांग्रेसले मंगलबारमात्रै १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको थियो ।
‘नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी असोज १६–१९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि कांग्रेस केन्द्रीय कार्यालयको नाममा राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैंचा उपलब्ध गराइ बुकिङ गरिदिनुहुन अनुरोध गरिन्छ,’ दुलालले लेखेको पत्रमा उल्लेख छ ।