काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुषपकमल दाहाल प्रचण्डले रसुवा बाढीको सन्दर्भमा चीनतर्फबाट सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन् । ‘चीनतर्फबाट सूचना आदानप्रदानमा के कसो भइरहेको छ ? यसलाई प्राथमिकतामा राखौं’ प्रचण्डले भने ।
सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदिश खरेल लगायत उपस्थित रहेका छन् ।
सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले ‘थप बाढी आउने जोखिम र सम्भावना के हो ? जनतालाई सुसूचित गरौं’ भनेर आग्रह गरेका छन् । साथै, प्रचण्डले विपद्पछिको अवस्थामा सबै एकैसाथ अगाडि बढ्नुपर्ने बताए ।
यसका निम्ति आफूहरू तयार रहेको र खोज तथा उद्धारका साथै अन्य मानवीय सहयोगमा पार्टीका नेतारकार्यकर्ता खटिइसकेको बताएका छन् ।
विपद्का विगतका घटनाहरूमा जस्तै दलहरू एकठाउँ हुनुपर्ने आग्रह गरे ।
प्रचण्डले भनेका छन्, ‘कोशी ड्याम विस्फोट, जुरे पहिरो र महाभूकम्पमा हामीले गरेको कामको अनुभवका आधारमा सबै राजनीतिक दल एक ठाउँ उभिऔ ।’
बैठकमा रास्वपा सभापति लामिछानेले पनि दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन् । साथै, राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव प्रस्तुत गरेका छन् ।
सभापति लामिछानेले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’
सरकारको राहत र उद्धार कोषलाई एकद्वार मानेर सबै दल एक ठाउँमा उभिएर सहयोग गर्ने पनि उनको आग्रह रहेको छ ।