खोटाङ । खोटाङमा खहरे खोलाभमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । भारी वर्षापछि शनिबार साँझ आएको बाढीले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो ।
राईलाई स्थानीय छाँगे खोलाले बगाउँदा मृत्यु भएको नेर्पाका वडाध्यक्ष माधव राईले बताए । आफन्तको घरमा गएकी शान्ता फर्किन ढिला भएपछि खोज्ने क्रममा खोलामा मृत फेला परेका हुन् ।
यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए ।
खोजतलास गर्ने क्रममा परियारको शव करिब सय मिटर तल फेला परेको थियो । दुवै शवको पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।