काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको दिग्गज कम्पनी एन्थ्रोपिकले सर्वसाधारणका लागि सेयर निष्कासन (आईपीओ) मार्फत ८१.३ अर्ब डलर संकलन गर्दै विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमान कायम गरेको छ।
यससँगै एन्थ्रोपिकले गत जुन महिनामा स्पेसएक्सले ७५ अर्ब डलरको आईपीओमार्फत बनाएको कीर्तिमान तोडेको छ।
बुधबार राति एक विज्ञप्ति जारी गर्दै एन्थ्रोपिकले कम्पनी र यसका सात जना सह-संस्थापकहरूले प्रतिकित्ता ८३ डलरका दरले ९८ करोड कित्ता सेयर बिक्री गरेको जानकारी दिएको छ।
लगानीकर्ताको माग अपेक्षाभन्दा अत्यधिक भएपछि आईपीओको आकार र मूल्य दुवै बढाइएको हो। यसअघि गत साता कम्पनीले प्रतिकित्ता ७० देखि ७८ डलरको मूल्यमा ८२ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको थियो।
सन् २०२१ मा प्रतिस्पर्धी एआई कम्पनी ओपनएआईका पूर्वअनुसन्धानकर्ताहरूले स्थापना गरेको एन्थ्रोपिकको यो ऐतिहासिक आईपीओले कम्पनीको बजार मूल्य करिब १.५ ट्रिलियन डलर पुर्याएको छ।
हालको मूल्याङ्कनअनुसार एन्थ्रोपिक टेस्लाभन्दा ठीक पछाडि रहँदै विश्वको १२औँ ठूलो कम्पनी बन्ने बाटोमा छ। एन्थ्रोपिकको सेयर बिहीबारदेखि न्युयोर्कस्थित नास्डाक स्टक एक्सचेन्जमा ‘एएनटी’ सिम्बोलअन्तर्गत कारोबार सुरु हुँदै छ।
एआई लगानीको उभार र बबलको बहस
एन्थ्रोपिकको सेयर बजार प्रवेशलाई एआई प्रविधिको नेतृत्व गरिरहेका प्रविधि कम्पनीहरूको उच्च मूल्यांकनको वास्तविक परीक्षाका रूपमा हेरिएको छ। प्रविधि कम्पनीहरूले व्यवसाय र समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षासहित एआईमा खर्बौँ डलर लगानी गरिरहेका छन्।
प्रविधि अनुसन्धान कम्पनी गार्टनरका अनुसार एआईसम्बन्धी लगानी सन् २०२६ मा २.७ ट्रिलियन डलर र सन् २०२७ मा ३.६ ट्रिलियन डलर पुग्ने अनुमान छ। हाल अमेरिकाको कुल सेयर बजार मूल्यको करिब आधा हिस्सा यिनै प्रविधिमा लगानी गरिरहेका कम्पनीहरूले ओगटेका छन्।
यो अत्यधिक खर्चले ठूला प्रविधि कम्पनीहरूले भविष्यको सुनखानीमा लगानी गरिरहेका छन् वा सन् २००० को डट-कम क्र्यास जस्तै सट्टेबाजीको बबल बनाइरहेका छन् भन्ने बहस चर्काएको छ।
फ्लोरिडा विश्वविद्यालयका आईपीओ विशेषज्ञ जे आर रिटरले यति कान्छो कम्पनीको यो स्तरको मूल्यांकन अभूतपूर्व भएको बताए।
अल जजिरासँग कुरा गर्दै उनले भने, ‘लगानीकर्ताहरू यसको सफ्टवेयरलाई लिएर उत्साहित छन्, जसले औषधि कम्पनीहरूलाई आगामी १० वर्षभित्र क्यान्सर र डिमेन्सिया रोक्ने औषधि पत्ता लगाउन मद्दत गर्न सक्छ। तीस वर्षअघि इन्टरनेट सबैभन्दा ठूलो परिवर्तन थियो, जसले हाम्रो जीवन बदल्यो। आज आर्टिफिसियल इन्टेलिजेन्स त्यस्तै अर्को ठूलो परिवर्तन हो।‘
सिलिकन भ्यालीकै ठूलो सम्पत्ति उभार : हजारौँ कर्मचारी बन्दै छन् मिलियनेयर
रोयटर्सका अनुसार, एन्थ्रोपिकको यो आईपीओले कम्पनीका वर्तमान तथा पूर्वकर्मचारीहरूमध्ये हजारौँलाई पेपर मिलियनेयर अर्थात् सेयर मूल्यका आधारमा कम्तीमा १० लाख डलरका मालिक बनाउने निश्चित देखिएको छ। यसलाई सिलिकन भ्यालीको इतिहासमै कर्मचारीहरूले प्राप्त गरेको सबैभन्दा ठूलो सम्पत्ति लाभ मध्ये एक मानिएको छ।
सुरुवाती अनुसन्धानकर्ता र इन्जिनियरदेखि सेयर अनुदान पाएका प्रशासनिक कर्मचारीहरूसम्मले यसबाट ठूलो आर्थिक लाभ उठाउनेछन्। यद्यपि, आईपीओको कागजातमा कर्मचारीहरूको कुल सेयर हिस्सा उल्लेख भए पनि व्यक्तिगत बाँडफाँड नखुलाइएका कारण बाहिरी अनुमानहरू फरक-फरक छन्।
निजी कम्पनीका सेयर कारोबार गर्ने सान फ्रान्सिस्कोस्थित प्लेटफर्म हिलले आईपीओको सुरुवाती ७० देखि ७८ डलरको मूल्य सीमा (अधिकतम १.४ ट्रिलियन डलर मूल्यांकन) का आधारमा ५९८ जना गैर(संस्थापक कर्मचारीहरूसँग कम्तीमा १० करोड डलर (१०० मिलियन डलर) बराबरको सेयर स्वामित्व हुने अनुमान गरेको छ।
त्यस्तै, निजी बजार अनुसन्धान फर्म साक्राले १.३५ ट्रिलियन डलरको मूल्यांकनमा करिब २ हजार ८०० वर्तमान र पूर्वकर्मचारीसँग करअघिको कम्तीमा १० लाख डलर बराबरको भेस्टेड इक्विटी अर्थात् बेच्न योग्य सेयर हुन सक्ने अनुमान गरेको छ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, गत सेप्टेम्बर ३० सम्ममा एन्थ्रोपिकका स्टक अप्सन धारकहरूसँग औसत २.९१ डलर प्रतिकित्ता खरिद मूल्यमा ११९ अर्ब डलर बराबरको कागजी नाफा थियो।
यसमध्ये करिब ७३ अर्ब डलर बराबरको सेयर सेवा अवधिका आधारमा परिपक्व भइसकेको छ र तत्काल प्रयोग गर्न सकिन्छ। हिलका सिइओ एन्ड्रु बेन्सनले भने, ‘सेयरको मूल्य बढेर जीवन नै बदलिने स्तरमा पुग्नु मानिसहरूले सधैँ चाहने कुरा हो। योभन्दा राम्रो अरू केही हुन सक्दैन।‘
प्रशासनिक र सुरुवाती तहका कर्मचारीलाई पनि जीवन बदल्ने लाभ
पाँच वर्षअघि कम्पनी सुरु हुँदा प्रशासनिक र सुरुवाती तहमा जोडिएका कर्मचारीहरूसँग समेत प्रतिकित्ता १ डलरभन्दा कम मूल्यका स्टक अप्सन छन्।
सन् २०२३ सम्म प्रदान गरिएका र वर्षको अन्त्यसम्म बाँकी रहेका अप्सनहरूको औसत मूल्य जम्मा ५२ सेन्ट मात्र रहेको कागजातले देखाउँछ।
सन् २००२ मा स्थापना भएर गत जुनमा आईपीओमा गएको स्पेसएक्समा मिलियनेयर बनेका धेरै कर्मचारीहरूले त्यहाँ एक दशकभन्दा बढी समय काम गरेका थिए। तर, एन्थ्रोपिकको हकमा छोटो समयमै ठूलो लाभ मिलेको छ।
बेन्सनका अनुसार, ‘सुरुवाती दिनमा निकै तल्लो तहबाट काम थालेका कर्मचारीहरूको आर्थिक नतिजा आईपीओको ठीकअघि निकै उच्च पदमा जोडिएका कर्मचारीको भन्दा पनि राम्रो हुनेछ।‘
गैर(संस्थापक कर्मचारीहरूले कारोबार सुरु भएको पहिलो दिन आफ्नो सेयरको १० प्रतिशतसम्म र सन् २०२६ को वित्तीय विवरण सार्वजनिक भएपछि थप ३५ प्रतिशतसम्म बिक्री गर्न पाउनेछन्।
सिएफओदेखि सहायक कर्मचारीसम्मको सेयर हिस्सा
सन् २०२४ को अन्त्यमा करिब ९४० कर्मचारी रहेको क्लड निर्माता एन्थ्रोपिकले एआईको उभारसँगै तीव्र रूपमा जनशक्ति विस्तार गर्दै गत सेप्टेम्बर ३० सम्ममा कर्मचारी सङ्ख्या करिब ५ हजार ३०० पुर्याएको छ।
कर्मचारी भर्नाका लागि कम्पनीले सेयरमा आधारित पारिश्रमिकलाई मुख्य माध्यम बनाएको थियो।
मे २०२४ मा कम्पनीले खुलाएको एक प्रशासनिक बिजनेस पार्टनर पदको विज्ञापनले सेयर लाभ अनुसन्धानकर्ता र इन्जिनियरमा मात्र सीमित नरहेको देखाउँछ।
कम्पनीका शीर्ष अधिकारीहरूको कार्यतालिका व्यवस्थापन, सम्मेलन संयोजन र खर्च दाबी मिलाउने जिम्मेवारी रहेको उक्त पदको वार्षिक तलब १ लाख ४० हजारदेखि १ लाख ९० हजार डलर तोकिएको थियो, साथै तलबबाहेक इक्विटी कुल पारिश्रमिकको मुख्य हिस्सा हुने उल्लेख थियो।
सो वर्ष कम्पनीले औसत १.३० डलर प्रतिकित्ताका दरले कर्मचारीहरूलाई स्टक अप्सन दिएको थियो।
आईपीओ विवरणअनुसार, एन्थ्रोपिकले सन् २०२४ मा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कृष्ण रावलाई १.३० डलरकै दरमा १ करोड ४० लाख कित्ता स्टक अप्सन दिएको थियो। आईपीओको मूल्य सीमाका आधारमा कर र लागत कटाउनुअघि ती अप्सनहरूको कुल मूल्य करिब १ अर्ब डलर पुग्छ।
साक्राका अनुसन्धान प्रमुख मार्सेलो बाल्भेका अनुसार भेन्चर क्यापिटलको लगानी रहेका कम्पनीहरूमा सुरुवाती चरणमा प्रशासनिक र सहायक कर्मचारीलाई सेयर दिनु नौलो होइन, तर कम्पनी ठूलो हुँदै जाँदा यो अभ्यास घटाउँदै लगिन्छ।
एन्थ्रोपिक पब्लिक कम्पनी भइसकेपछि उसले अब सुरुवाती सेयर अनुदानलाई केवल शीर्ष प्रतिभाहरू भित्र्याउनमा मात्र सीमित राख्ने सम्भावना रहेको बाल्भेले बताए।
(अल जजिरा र रोयटर्सको सहयोगमा)