×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

निर्वाचन प्रणालीमा धनबल, बाहुबल र मिडियाको प्रभाव रहेको अर्यालको आरोप

निर्वाचन प्रणालीमा धनबल, बाहुबल र मिडियाको प्रभाव रहेको अर्यालको आरोप

ललितपुर । नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणालीमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाएकी छन् । 

शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालासँग गरेको छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताइन् ।

आफूले निर्वाचन लड्दासमेत बुथ कब्जा र धाँधलीका घटना भोगेको उल्लेख गर्दै अर्यालले त्यससम्बन्धी प्रमाण आफूसँग रहेको दाबी गरिन् । निर्वाचन प्रणाली सुधारका लागि पहिले विद्यमान विकृति र समस्या पहिचान गर्नुपर्ने उनको भनाइ छ । लोकतान्त्रिक व्यवस्थामा नागरिक जहाँ रहे पनि मतदानको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उनले अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्था गर्दा व्यावहारिक कठिनाइलाई समेत सम्बोधन गर्नुपर्ने बताइन् ।

अर्यालले भनिन्, लोकतान्त्रिक व्यवस्थामा हाम्रा नागरिक जहाँसुकै भए पनि मताधिकारबाट वञ्चित हुनु हुँदैन । आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने कुराको सुनिश्चितता गरिनुपर्ने उल्लेख गर्दै उनले निर्वाचन आयोग त्यसतर्फ अघि बढेकोमा प्रशंसा गरिन् र आवश्यक साथ तथा सहयोग गर्न तयार रहेको बताइन् ।

अन्तरदेशीय र अन्तरजिल्ला निर्वाचनमा भावनाका कुराले मात्र नहुने र व्यावहारिक कठिनाइ पनि रहेको भन्दै उनले समयमै समस्या पहिचान गरिए मात्र समाधानतर्फ जान सकिने बताइन् । उनले भनिन्, काठमाडौँमा बसेको कर्णालीको मान्छेले काठमाडौँबाट मतदान गर्न र ७७ जिल्लामै गर्दा काठमाडौँका प्रत्येक निर्वाचन केन्द्रमा ७७ वटा मतपेटिका रहनुपर्छ ।

पालिकालाई पनि समेट्ने व्यवस्था गरिए झन् धेरै मतपेटिका आवश्यक पर्ने उनको भनाइ छ । उनले भनिन्, हाम्रो निर्वाचन क्लिन छैन ।

चुनाव लड्दा आफूले धेरै विकृति भोगेको बताउँदै उनले एक सयमा ९९ प्रतिशत भोट खसेको घटना आफ्नो निर्वाचन क्षेत्रमा भएको र त्यसको उपचार नभएको उल्लेख गरिन् । तथ्यसहित प्रमाण आफूसँग रहेको दाबी गर्दै उनले भनिन्, यहाँ यहाँ बुथ कब्जा भयो, यहाँ धाँधली भयो, यसरी भोट हालियो भन्ने छ । आज पनि निर्वाचन मनीले, मसलले हुन्छ, मिडियाले प्रभावित हुन्छ ।

लोकतान्त्रिक व्यवस्थामा नागरिक जहाँसुकै भए पनि मतदान गर्न पाउनुपर्नेमा जोड दिँदै अर्यालले अन्तरदेशीय र अन्तरजिल्ला निर्वाचन गर्न केही कानुनी कठिनाइ हुन सक्ने भन्दै आयोगलाई सचेत गराइन् ।

प्रतिकृया दिनुहोस्