×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

राष्ट्र बैंकको खुद आय २१.९६ प्रतिशतले बढ्यो

राष्ट्र बैंकको खुद आय २१.९६ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ बराबर खुद आय गरेको छ । केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले वृद्धि भएको हो । 

गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । 

विसं २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०.१५ प्रतिशतले वृद्वि भई २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड रुपैयाँ बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको विदेशी ऋणको लेखाङ्कन भएको केन्द्रीय बैंकले जनाएको छ। 

सो आवमा ७३ अर्ब ९९ करोड ९० लाख रुपैयाँ बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार रुपैयाँ थान नयाँ नोट चलनचल्तीका लागि निष्काशन गरिएका थिए ।

बैंकका अनुसार, २०८१ असार मसान्तसम्ममा कूल ५ खर्ब ९० अर्ब १५ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोटहरू चलन चल्तीमा छन्।

केन्द्रीय बैंकको प्रतिवेदनअनुसार, आव २०८०/८१ मा वाणिज्य बैंकको कूल सम्पत्तिरदायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड रुपैयाँ, विकास बैंकको ७.९ प्रतिशतले वृद्धि भई ७ खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कूल सम्पत्तिरदायित्व १.३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म २ खर्ब ५७ अर्ब ७२ करोड रुपैयाँ कर्जा र १४ खर्ब ३० अर्ब ४६ करोड रुपैयाँ निक्षेप सुरक्षण गरेको छ । 

बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या २०८१ असारमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ३० रहेको छ । 

प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत कूल ४६ खर्ब ७३ अर्ब ६० रुपैयाँ करोड तरलता प्रशोचन गरिएको छ भने कूल ८ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ।

समीक्षा वर्षमा १ अर्ब २० करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग भएको छ। आव २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ । 

बैंकको प्रतिवेदनमा २०८१ असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कायम भएको छ । 

अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिती १५ अर्ब २७ करोड रुपैयाँ रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

आव २०८०/८१ मा कूल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड र कूल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

समीक्षा वर्षमा कूल वस्तु व्यापार घाटा एक प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ रहेको छ । यो कूल ग्रार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो । 

सो आवमा सरकारको अन्य प्राप्ति समेत गरी १० खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । कूल सरकारी खर्च १४ खर्ब ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । 

प्रतिकृया दिनुहोस्