काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
दुर्घटनामा ट्रक चालकसहित ट्रक तथा बसमा सवार गरी ८ जना घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने एक महिलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको प्रहरी निरीक्षक थापाले बताए ।
बस चालक भने दुर्घटनापछि फरार रहेको र उनको खोजी भइरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।