×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बीपी राजमार्गमा अब २ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी

बीपी राजमार्गमा अब २ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी

काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गका १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन बनेको छ । अब २ स्थानमा मात्र डाइभर्सन बनाउन बाँकी छ ।

बीपी राजमार्गको काभ्रे खण्डमा १४ र सिन्धुली खण्डमा ३ स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार रोशी खोलाले बीपी राजमार्गको चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी र पिप्लेका चार स्थानमा डाइभर्सन बनिसकेको छ । अब माम्तीका दुई स्थानमा डाइभर्सन बनाउने काम भइरहेको छ ।

सबै काम सकेर आजै साँझसम्ममा राजमार्ग खुलाउने प्रयास भइरहेको डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । राजमार्ग खुलाउन बिहीबार रातभरि पनि काम गरिएको जानकारी दिए ।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फ नेपालथोक, बालुवा गरेर तीन स्थानमा डाइभर्सन बनिसकेको सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले जानकारी दिए ।

काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ तथा सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थान गरेर १९ स्थानमा रोशीको बाढीले डाइभर्सन बगाएको थियो ।

राजमार्गमा दाप्चा खोलाले एक स्थानमा क्षति पुर्याएको थियो भने रोशी खोलाले चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी, पिप्लेमा चार स्थानमा तथा माम्तीमा दुई स्थानमा डाइभर्सन बगाएको थियो । त्यस्तै बर्खेखोलादेखि नेपालथोकसम्म तीन स्थानमा डाइभर्सन बगाएको थियो ।

गत असोजको बाढीपहिरोले क्षतबिक्षत बनाएको बीपी राजमार्गमा बनाइएको डाइभर्सन यसपटकको बाढीले सबै बगाएको थियो ।

प्रतिकृया दिनुहोस्