×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

आन्दोलनरत शिक्षकहरुले हात उठाएर गरे सरकारको सांकेतिक विरोध

आन्दोलनरत शिक्षकहरुले हात उठाएर गरे सरकारको सांकेतिक विरोध

काठमाडौं। शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् ।

बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।

‘शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर प्रदर्शन गरेका हौँ,’ आन्दोलनमा सहभागी हेटौंडाबाट आएका शिक्षक पूर्ण ब्लोनले भने, ‘ एक साता हुँदा पनि हाम्रो मागहरू सम्बोधन भएको छैन। त्यसकारण हामीले आज हात उठाएर दबाब दिन खोजेका हौं।’

मंगलबार(हिजो) दिउँसै बत्ती बालेर शिक्षकले सरकार खोजेका थिए । यसअघि शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।


सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । उनीहरुको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।

यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ ।

प्रतिकृया दिनुहोस्