×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : बुधबारदेखि अन्तिम सुनुवाइको लागि पेसी

नक्कली भुटानी शरणार्थी प्रकरण : बुधबारदेखि अन्तिम सुनुवाइको लागि पेसी

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दा अन्तिम सुनुवाइ बुधबारदेखि हुने भएको छ । 

जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा बुधबारदेखि सुनुवाइका लागि पेसी तोकिएका हो । पछिल्लो समय यो मुद्दामा साक्षी बुझ्ने र बकपत्र गराउने काम सकिएपछि साप्ताहिक पेशी सूचीमा राखिएको छ । 

यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् । 

यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०र ८१ मा मुद्दाले प्राथमिकतै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।

यो मुद्दामा थुनछेक आदेश भएयता ३२ पटक पेसी चढेकामा गत १ वैशाखयता मात्रै २२ पटक पेसी तोकिएको छ । 

त्यसअघि २०८१ मा ७ र २०८० मा ४ पटक पेसी तोकिएको थियो । गृहमन्त्री र गृह सचिवस्तरमा निर्णय गरेर बिचौलियासँगको ‘सेटिङ’ मिलाई नक्कली शरणार्थी सूची बनाएको पोल खुलेपछि प्रहरीले १२ चैत २०७९ मा केशव दुलालसहित केहीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्य विरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएकामा ९ वैशाख २०८१ मा पहिले नै प्रतिवादी बनाइएका केशव दुलालसहित ५ जना र ४ साउन २०८१ मा अर्का सन्दिग्ध पात्र बेचन झाविरुद्ध २९ साउन २०८१ मा पूरक मुद्दा अदालत पुगेको थियो । 

थुनछेक बहसरआदेशबाहेक तीन वटै मुद्दालाई लगाउमा राखिएकामा २०८० मा ४ पटक, २०८१ मा ६ पटक र २०८२ वैशाख यताको साढे ४ महिनामा २६ पटक मुद्दा पेसी चढेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य आङटावा शेर्पा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ३१ जनाविरुद्ध ठगी, किर्ते, सङ्गठित अपराध र राज्य विरुद्धको अपराध अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो ।

सुरुमा गजेन्द्र बुढाथोकीसहितका व्यक्तिको जाहेरीका आधारमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर भएको थियो । 

अर्को वर्ष ९ वैशाख २०८१ मा दाफुरी शेर्पासहितका व्यक्तिको जाहेरीका आधारमा सुरु मुद्दाकै प्रतिवादी केशव दुलालसहित ५ जना र गजेन्द्र बुढाथोकीसहितका व्यक्तिको जाहेरीका आधारमा २९ साउन २०८१ मा शरणार्थी प्रकरणका सन्दिग्ध पात्र बेचन झाविरुद्ध अदालतमा पूरक मुद्दा दायर भएका थिए । पछिल्ला दुवै मुद्दालाई सुरु मुद्दामै लगाउ गरेर अदालतले सुनुवाइ अघि बढाएको हो ।

यी हुन् शरणार्थी प्रकरणका अभियुक्त

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी

तत्कालीन उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी

पूर्व गृहमन्त्री बालकृष्ण खाँण

हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ

तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे

तत्कालीन संविधानसभा सदस्य आङटावा शेर्पा

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई

तत्कालीन गृहमन्त्रीका थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राई

शरणार्थी प्रकरणका बिचौलिया केशव दुलाल

बिचौलिया दुलालकी पत्नी दीपा हुमागाईं

शरणार्थी प्रकरणका बिचौलिया सानु भण्डारी

गिरोहको नेटवर्कमा बसेर काम गर्ने अभियुक्तहरू 

टंककुमार गुरुङ

मोहनराज राई

निरञ्जनकुमार खरेल

केशव तुलाधर

हरिभक्त महर्जन

महर्जनकी पत्नी लक्ष्मी महर्जन

राजेश अर्याल

विनीता सावदेन लिम्बु

सागर राई

आशिष बुढाथोकी

सुनिल बुढाथोकी

रामशरण केसी

सन्देश शर्मा

अशोक पोखरेल

गोविन्दकुमार चौधरी

धिरेन राई

बेचन झा

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

प्रतिकृया दिनुहोस्