×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा

काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जाडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत टोलीले शनिबार प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरेका छन् । अनुगमनपछि सो प्रसारण लाइन निर्माणको काम दसैंअघि नै सक्ने समयसीमा तय गरिएको प्राधिकरणले जनाएको छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचे चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणका कामहरु नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दसैं अगाडि नै सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको छ ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको काम सम्पन्न भइसकेको छ ।

प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ ।

२८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी रहेको प्राधिकरणले बताएको हो । टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिकहरू परिचालित छन् ।

आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न,  कामदार थपेर कामलाई तीव्रता दिन अनुगमन टोलीले आग्रह गरेको छ ।

टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको हो । अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको समेत अनुगमन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्