×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

भोलिदेखि सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै

भोलिदेखि सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै

काठमाडौँ । बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तो टिकेट्स’ सुरु हुँदै छ । 

काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इनोभेसन सहभागी हुनेछन् । लिभिङ विथ आईसीटी, आईसीटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पेससम्बन्धी उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिनेछ । 

कात्तिक २७ र २८ गते (बिहीबार र शुक्रबार) दुई दिनसम्म चल्ने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता र जब फेयरसमेत सञ्चालन हुनेछन् । 

फेस्टमा आईसीटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार, सोसल इनोभेसनलगायत विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी हुनेछन् । अवलोकनकर्ताले ती प्रडक्ट तथा इनोभेसनलाई प्रत्यक्ष अवलोकन गर्ने र भोट गर्ने अवसर पाउनेछन् । 

आयोजकका अनुसार देशमै कार्यरत युवा स्टार्टअप, विद्यार्थी र इनोभेटरलाई प्रवर्द्धन गर्न तथा उद्यमशीलताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो फेस्ट आयोजना गरिएको हो । फेस्टमा प्रवेश निःशुल्क हुनेछ, जसले इच्छुक युवाहरूलाई आफ्ना सिर्जनात्मक प्रविधि र इनोभेसन प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । 

त्यस्तै प्रदर्शनीमा रहेका स्टार्टअप र प्रडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रडक्ट डेमो र नेटवर्किङ सेसनको व्यवस्था पनि गरिएको छ । 

फेस्टमा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट लिडर, नीति निर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहनेछ । नेपालको स्टार्टअप तथा इनोभेसन क्षेत्रको वर्तमान अवस्था बुझ्न र युवाहरूले देशमै कस्ता प्रविधि विकास भइरहेका छन् भन्ने बुझ्न फेस्ट उपयोगी हुने आयोजकको विश्वास छ । 

एआईलाई केन्द्रित गरेर सनवे कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । कलेजले फेस्टमा पनि विभिन्न एआई प्रोजेक्टहरू प्रदर्शनी गर्नेछ । 

यसैगरी एआई प्रडक्ट टिंगटिंगले फेस्टको इन एसोसिएसन र नेपालकै स्टार्टअप कम्पनी सस्तोटिकेटले पावर्ड वाई स्पोन्सर गरेको कार्यक्रममा स्टार्टअपलाई लगानीसँगै आइटीमा इन्टर्न र जब खोज्नेको लागि पनि अवसरहरू प्रदान गरिनेछ । 

सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित मानिने आईसीटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया जारी छ । यस वर्ष अवार्डका लागि सात सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्