×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृति/संस्कार

नवरात्रको छैटौँ दिन : मिथिलामा आज ‘बेलनौत’ विधि गरिँदै

नवरात्रको छैटौँ दिन : मिथिलामा आज ‘बेलनौत’ विधि गरिँदै

काठमाडौं । मिथिला क्षेत्रमा  ‘बेलनौत’ विधि गरिँदैछ। शरद नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधि गर्ने परम्परा छ। देवी दुर्गाका  प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि गर्ने परम्परा छ।

मिथिला क्षेत्रमा दशहारामा माटो मुछेर बनाइएका देवी प्रतिमाका  आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेलको भेट्नो प्रयोग गरिने परम्परा छ। यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी  प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भनिन्छ।

षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ। देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधिमा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन्। मिथिलामा आँखा उघारिएपछि प्रतिमा पूर्ण सजीव भएको मानिने बर्दिबास(२ का मैथिल परम्पराका ज्ञाता दिनेश झा बताउँछन्।

सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ। सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ। बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिने गरिएको मैथिल परम्पराका जानकार महोत्तरीको जलेश्वर नगरपालिका(४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ८० वर्षीय कृष्णचन्द्र झा बताउँछन्।  

दशहरा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्ती(बस्तीमा जसो देवी प्रतिमा बनाइएका छन्। ‘बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मिथिलाका बासिन्दा जुटेसँगै पर्वको चहलपहल निकै बढेको छ। पर्वविशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा ‘बेलनौत’ विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन्।

यद्यपि यस्ता मन्दिरमा पनि निम्ता गरिएको बेल फल टिपेर ल्याई देवी प्रतिमा नजिक राख्ने चलन छ। पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा छ। यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ।

प्रतिकृया दिनुहोस्