काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बोलाइएको छ । बैठकले एकीकृत समाजवादीसहितका दलहरुसँगको एकताको सहमतिलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।
यही कात्तिक १६ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने।क।पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थियो । त्यसको भोलिपल्ट गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए ।
उनीहरुले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् ।
यस एकता प्रक्रियामा नरहेका नेत्रविक्रम चन्द, माओवादीका असन्तुष्ट नेताहरू उपमहासचिव जनार्दन शर्मा, राम कार्की, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल लगायतका नेताहरूबीच अर्को नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ ।