काठमाडौं । साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।
घटनामा भारतीय र पाकिस्तानका एक–एक नागरिक घाइते भएका छन् ।
बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सिमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई बीचमै रोकिएको थियो ।
त्यसपछि खसेको भग्नावशेषले तेल केन्द्रमा क्षति पुगेको थियो । भग्नावशेष खस्दा केन्द्रमा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा समेत आगलागी भएको थियो ।
मन्त्रालयले ड्रोन कसले प्रक्षेपण गरेको भन्नेबारे भने खुलाएको छैन । तर पछिल्लो समय हुथी विद्रोहीहरुले यमनबाट साउदी अरबमा आक्रमण गर्दै आएका छन् ।
पछिल्लो घटना साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका आक्रमणको शृंखलाकै हिस्सा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
साउदीमा शृंखलाबद्ध आक्रमण
बुधबार साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते छन् । गत साता अक्टोबर ११ मा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु र ११ जना घाइते भएका थिए । त्यसको अघिल्लो दिन, अक्टोबर १० मा सोही विमानस्थलमा भएको अर्को आक्रमणमा १२ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए ।
गत महिना हुथी विद्रोहीको ड्रोनलाई बीचमै रोक्ने क्रममा खसेको भग्नावशेष लागेर साउदी अरबमा एक यमनी नागरिकको मृत्यु भएको थियो । रिपोर्टहरूका अनुसार हुथी समूहले आक्रमण तीव्र पारेपछि साउदी अरबमा भएको त्यो पहिलो सर्वसाधारणको मृत्यु थियो ।
यसै महिनाको सुरुमा साउदी अरबको पूर्वी प्रान्तस्थित अराम्कोको एक केन्द्रमा भएको आक्रमणपछि प्रशासनिक भवनमा सीमित आगलागी भएको ऊर्जा मन्त्रालयले जनाएको थियो ।
यमनमा हुथी विद्रोही र साउदीसमर्थित सरकारी सेनाबीच पुनस् द्वन्द्व चर्किएसँगै क्षेत्रीय तनाव बढेको छ । चार वर्षसम्म कायम रहेको युद्धविराम भंग भएपछि यमनको द्वन्द्व थप चर्किएको हो ।
यसैबीच, अमेरिकाले साउदी अरबमा रहेका गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न आदेश दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले बुधबार यस्तो निर्णय हुथी विद्रोहीका आक्रमण, विशेषगरी विमानस्थललाई लक्षित गरिएका हमलासँग सम्बन्धित रहेको बताएका छन् ।
‘विदेश मन्त्रालयका कर्मचारी र उनीहरूका परिवारको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो । उनीहरूको संरक्षण र सहयोगका लागि आवश्यक सबै कदम चालिरहनेछौँ,’ पिगोटले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।