×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आर्थिक समृद्धिलाई साझा एजेण्डा बनाएर देशलाई आत्मनिर्भरताको बाटोमा लैजानु पर्छ : प्रचण्ड

आर्थिक समृद्धिलाई साझा एजेण्डा बनाएर देशलाई आत्मनिर्भरताको बाटोमा लैजानु पर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको महसुस भएको स्मरण गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताएका थिए ।

त्यसलाई थप प्रष्ट पार्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरे भन्नुभयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु ।’

उनले अहिले कर्मचारी र आफूहरू एउटै कित्तामा रहेको जिकिर गरे । उनले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भए पनि अहिले त्यस्तो नभएको गुनासो गरे ।

‘मैले रातारात अबरपति–करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने । अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र विचौलियाहरूकाबीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने । नियुक्ति नभए दबाब दिने जुन प्रक्रिया मैले झेलेको छु,’ प्रचण्डले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको बीचमा संवाद रोकिएको छ ।’

‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् ।

‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीहरूको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरूले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ’– उनले भने– ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका सङ्केतहरू देखा पर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।’

लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए । सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन सम्भव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताए ।

‘यहाँहरू जानकार नै हुनुपर्छ, मैले तीनपटक प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधारका लागि उल्लेख्य थालनीहरू गरेको थिएँ । मेरो पहिलो कार्यकाल पूर्वाधार विकास र प्रशासनिक सुधारमा केन्द्रित थियो’– अध्यक्ष प्रचण्डले भने– ‘मध्यपहाडी लोकमार्ग जस्ता राष्ट्रिय गौरवका परियोजनाले पहाडी क्षेत्रको अर्थतन्त्रलाई सुदृढ गर्न महतत्वपूर्ण सफलता प्राप्त भएको छ । मेरो दोस्रो कार्यकाल नेपालको इतिहासकै महत्त्वपूर्ण मानिएको ऊर्जा सङ्कट समाधानमा केन्द्रित थियो ।’

दिनमा १८ घण्टासम्म लोडसेडिङ भित्तामा लोडसेडिङको तालिका टाँसेर आफ्नो उद्योग व्यवसाय सञ्चालनको समय पर्खनुपर्ने जर्जर अवस्थालाई अन्त्य गर्दै आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा लोडसोडिङमुक्त उज्यालो नेपालको थालनी गरिएको स्मरण गर्दै उनले भने– ‘नेपालको अर्थतन्त्र सुधारका लागि यो ऐतिहासिक कोशेढुंगा थियो भन्नेमा आम उद्योगी व्यवसायीहरू जानकार नै हुनुहुन्छ । मेरो दोस्रो कार्यकालकै परिणामको स्मरण गर्दा चौधौँ राष्ट्रिय योजनामा लक्ष्यभन्दा बढी ७।५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनु महत्त्वपूर्ण प्रगति थियो।’

अध्यक्ष प्रचण्डले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्त्वपूर्ण राष्ट्रिय एजेण्डाको रूपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रूपमा अघि बढाएको बताए । ‘ मैले सरकारको नेतृत्व लिँदै गर्दा नेपालको अर्थतन्त्र कमजोर मात्र थिएन, विभिन्न आर्थिक सङ्कट झेलिरहेका देशहरूसँग तुलना गर्दै नेपाल पनि आर्थिक सङ्कटमा जाँदैछ भनेर एक प्रकारले आतङ्क नै खडा गरिएको थियो’– उनले भने– ‘तर, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै जनतामा नयाँ आशाको जागृत गरेर आर्थिक क्षेत्रमा संरचनागत सुधारको प्रयास थालेपछि अर्थतन्त्र बिस्तारै लयमा फर्कन थाल्यो र अहिले आशालाग्दो गरी यसले गति लिइरहेको छ । क्रमशः आर्थिक सुधारका सकारात्मक परिणाम पनि आउन थालिसकेका छन् ।’

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणसम्म आइपुग्दा हामीले अर्थतन्त्रका रूपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेका जानकारी दिँदै उनले भने– ‘कृषिलाई आधार र सूचना प्रविधिलाई नेतृत्वदायी भूमिकामा राख्ने अवधारणासहित कृषि, पर्यटन, जलविद्युत, उद्योग र सूचना प्रविधि क्षेत्रलाई रूपान्तरणकारी क्षेत्रका रूपमा पहिचान र परिचालन गर्नु आर्थिक समृद्धिको क्षेत्रमा महत्त्वपूर्ण सुरुवात हो । हामीले व्यवस्थितरुपमा अघि बढाएका यी आर्थिक सुधारका पहल र कार्यक्रम वर्तमान सरकारले त्यही गतिमा सञ्चालन गरिरहेको छैन । नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत आर्थिक क्षेत्रका नेतृत्वदायी संस्थाहरूले अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजनाहरू कार्यान्वयनका लागि सरकारलाई दबाब दिन आवश्यक देखिएको छ र त्यसका लागि सबै व्यवसायी साथीहरूलाई म आग्रह पनि गर्दछु ।’

संविधानको अभीष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको उल्लेख गर्दै उनले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रिय अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पुँजीको निर्णायक भूमिका रहन्छ । राष्ट्रिय पुँजी परिचालनमार्फत आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न साना तथा मझौला उद्योग व्यवसायीको महत्त्वपूर्ण भूमिका रहन्छ’– अध्यक्ष प्रचण्डले भने– ‘देशभरिका हजारौँ व्यवसायीको नेतृत्व गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघ जस्ता संस्थाहरूले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न प्रभावकारी पहल लिनुपर्ने बेला आएको छ । अब आर्थिक, राजनीतिक लगायत सबै क्षेत्रले आर्थिक समृद्धिलाई साझा एजेण्डा बनाएर कृषि र औद्योगिक क्षेत्रलाई सुदृढ गर्दै देशलाई आत्मनिर्भरताको बाटोमा लैजानु पर्दछ।’

प्रतिकृया दिनुहोस्