काठमाडौं । अघिल्लो दिन १४ अंक बढेको सेयर बजार बिहीबार ७.५० अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा बढेको बजार २ स् ३४ बजेतिर भने २५८१ अंकसम्म झरेको थियो, जुन दिनभरको लागि न्यूनतम अंक रह्यो । अन्तिम एक मिनेटमा नेप्से उच्च दरले बढ्दा अन्ततः लगातार तेस्रो दिन बढेर बन्द भयो ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो । आज १२१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ३ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् ।
बैंकिङ ०.६२, विकास बैंक ०.०८, लगानी ०.११, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.११, अन्य ०.३१ तथा व्यापार ०.३२ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन ०.११, जलविद्युत् ०.३४, होटल तथा पर्यटा ०.०९ र फाइनान्स समूह ०.६६ प्रतिशत घटे ।
फर्स्ट माइक्रोफाइनान्सको १४.६७, चिरख्वा हाइड्रोपावरको १४.३४, पियोर इनर्जीको १३.९७, माइखोला हाइड्रोपावरको १२.५२, सयपत्री हाइड्रोपावरको ८.५५ प्रतिशत मूल्य बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ८.७७, भुजुङ हाइड्रोपावरको ४.३५, स्वेतगंगा हाइड्रोपावरको ४.१९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सिंगटी हाइड्रो इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, रिडी पावर, आँखुखोला जलविद्युत् र कर्पोरेट डेभलपमेन्ट बैंक रहे ।
यसैबीच भोलिदेखि सेयर बिक्रीमा बढेको पूँजीगत लाभकर लागु हुने भएको छ । १ वर्षभन्दा कम अवधि होल्ड भएको सेयरको नाफामा १० प्रतिशत र १ वर्षभन्दा बढी अवधि होल्ड भएको सेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ । यसअघि बजेटमा घोषणा गरिएको यो व्यवस्था भोलि साउन १ बाट लागु हुँदैछ ।