×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षीले आज संसद्‍मा विरोध जारी राख्ने

प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षीले आज संसद्‍मा विरोध जारी राख्ने

काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को जवाफ मागेर विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राख्ने भएका छन् । बैठक सुरु भए लगत्तै ढ्याप ढ्याप गरेर समय लिएर आफ्नो कुरा राख्ने विपक्षीको तयारी छ ।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भनिन्, ‘बैठक सुरु भएपछि प्रधानमन्त्रीको अभिव्यक्तिमा जवाफ खोजेर आफ्ना कुरा राख्दै आएका छौं । यो निरन्तर नै हुन्छ ।’

जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूको प्रश्न लिएर जवाफ दिएका थिए । त्यसक्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि सीमा विवादको विषय उठाए ।

राईको प्रश्न थियो, ‘कालापानी, लिपुलेक, लिपियाधुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र अन्य सीमामा थुप्रै समस्या छन् । त्यो सीमामा सरकार छ भन्ने आम नागरिकले कहिले अनुभूति गर्न सक्छन् ?’


जवाफमा प्रधानमन्त्री बालेनले ‘डिप्लोमेटिक रूपमा टेबल टक’ गरेरै समस्या समाधान गर्ने पुरानै बताए । यहाँनेर प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट समेत भारतीय भूमि मिचिएको विषय थाहा लागेको सुनाए ।

‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ प्रधानमन्त्री बालेनले भने, ‘त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ । के छ ? त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’

प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति लगत्तै विपक्षी दलहरूले विरोध गरे । नेपालबाट भारतको जमिन मिचिएको प्रधानमन्त्रीको अभिव्यक्तिको तथ्य मागे ।

‘सम्माननीय प्रधानमन्त्रीले नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ भन्नुभयो । कहाँनेर मिचिएको हो यसबारे छिटोभन्दा छिटो अवगत गराइयोस्’ ‘कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सोही दिन भनेकी थिइन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राख्न पर्‍यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’

यो विषयमा प्रधानमन्त्री बालेन फेरि बोल्न तयार भएनन् । यसकारण विपक्षी दलहरूले जेठ १७ देखि नै यो विषयलाई लिएर प्रतिनिधिसभामा विरोध गर्दै आएका छन् ।

यो विषयमा कि तथ्य दिनुपर्ने नभए माफी मागेर संसदीय रेकर्डबाट हटाउनुपर्ने विपक्षी दलहरूको माग रहेको छ ।

यस्तो माग राखेर बैठक सुरु भए लगत्तै विपक्षीले विरोध गर्न थालेको ६० दिन भयो । जेठ महिनाको १४ दिन, असार महिनाको ३२ दिन र साउन महिनाको १४ दिन सम्म विपक्षी दलहरूले सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा जवाफ मागिरहेका हुन् ।

संसद्मा विवपक्षीले खोजेको लामो समय भएको पृष्ठभूमिमा बुधबार सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेनसँग भेटेका थिए । सिंहदरवारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित भएर समसामयिक विषयलाई सम्बोधन गर्दा राम्रो हुने सुझाव दिए ।

भेटबारे जानकारी दिँदै सभामुख अर्यालले भनेका छन्, ‘मैले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्दा राम्रो हुन्छ भनेँ ।’

सभामुख अर्यालका अनुसार प्रधानमन्त्री शाहले ‘विचार गर्छु’ भन्ने जवाफ दिएका छन् ।

प्रतिनिधिसभामा विपक्षीले आफ्ना कुरा राख्न विरोध गर्छन र फेरि बैठक कार्यसूचीमा प्रवेश गर्न दिन्छन् । विगतमा यस्तै हुँदै आएको र आज पनि यस्तै हुने कांग्रेसकी प्रमुख सचेतक थापाले जानकारी दिइन् ।

यसबाहेक प्रतिनिधिसभामा आज आकस्मिक समय र शून्य समय चल्नेछ । जहाँ सांसदहरूले आफ्ना विषय राख्नेछन् । यसबाहेक सदनमा एउटा विधेयक संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रतिकृया दिनुहोस्