हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ स्थित तिलजुङ खोलाको पुल बाढीले बगाएको छ । श्रमदानबाट निर्माण गरिएको उक्त पुल बुधबार साँझ आएको बाढीले बगाएको हो । आकस्मिक आएको लेदो सहितको बाढीले पुल बगाएको स्थानीय दोर्जी लामाले जानकारी दिए।
बाढीका कारण बस्ती जोखिममा परेपछि बुधबार साँझ नै सो क्षेत्रका स्थानीयहरू गुम्बामा गएर बास बसेका थिए ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार बाढीका कारण जोखिममा परेका बस्तीको अवस्थाबारे अवलोकन गर्न सात जना प्रहरीको टोली खटिएको छ ।
जोखिम बस्तीबारे स्थलगत अवलोकनपछि स्थानीयलाई सोही बस्तीमा पुनर्स्थापित गर्ने कि अझै केही दिन अहिले सरेकै स्थानमा सुरक्षित बस्नका लागि समन्वय गर्ने भन्नेबारे निर्णयमा पुग्ने उनले बताए ।
यस विषयमा गाउँपालिकाका अध्यक्षसँग पनि समन्वय भइरहेको उनले बताए ।
उनले भने, ‘अहिले बाढी घटेको छ । स्थानीयहरू गुम्बामै सुरक्षित बस्नु भएको छ । अझै एक/दुई दिन गुम्बामै बस्ने कि बस्तीमा पुनर्स्थापित गर्ने भन्नेबारे अनुगमनपछि मात्रै भन्न सकिन्छ ।’
यसैविषयमा छलफल गर्नका लागि आजै जिल्ला सुरक्षा समितिको बैठक डाकिएको प्रजिअ गुरागाईंले जानकारी दिए ।