×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

विश्वकपमा इजिप्टको ऐतिहासिक जित, समूह जी को शीर्ष स्थानमा

विश्वकपमा इजिप्टको ऐतिहासिक जित, समूह जी को शीर्ष स्थानमा

काठमाडौं । न्यूजिल्यान्ड विरुद्ध पुनरागमन जित निकाल्दै इजिप्ट फिफा विश्वकपमा पहिलो जित हात पारेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट जी समूहको शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

सन् १९३४ को दोस्रो संस्करणको विश्वकप खेलेको इजिप्टले चौथो सहभागितामा पहिलो जित निकालेको हो । यसअघि समूह जी को पहिलो खेलमा इजिप्टले बेल्जियमसँग बराबरी खेलेको थियो ।

इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे । खेलमा पहिलो अग्रता न्यूजिल्यान्डले लिएको थियो ।

खेलको १५औं मिनेटमा फिन सम्र्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, न्यूजिल्यान्डले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलमा ५८औं मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई बराबरीमा फर्काए ।

त्यसको ९ मिनेटपछि इजिप्टका कप्तान सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको अग्रताको दुरी बढाए । बल पोजिसनदेखि सर्टसम्ममा इजिप्ट हाबी बन्यो ।

जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । इरान र बेल्जियमको समान २ अंक छ । न्यूजिल्यान्डको एक अंक छ ।

विश्वकप इतिहासमा इजिप्टको यो पहिलो जित हो । पहिलोपटक सन् १९३४ मा विश्वकप खेलेको इजिप्टले त्यसयता १९९० र २०१८ को विश्वकप खेलेको थियो । तर, कुनै पनि जित निकाल्न सकेको थिएन । यसपटक पहिलो खेलमा बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा पुनरागमन जित निकालेको हो ।

प्रतिकृया दिनुहोस्