काठमाडौं । सिरियाका अपदस्थ नेता बशर अल-असदप्रति बफादार समूहको आक्रमणमा परी विद्रोही-नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य १० अन्य घाइते भएका छन्।
अलवाइत समूहका समर्थकहरू पूर्वनेता असदले मान्ने गरेको धार्मिक समूहका सदस्यहरू हुन्।
यूके मुख्यालय रहेको अधिकारवादी समूह सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार कुख्यात सैदनाय जेलसँग सम्बन्धित एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले टार्टुस सहरमा पक्राउ गर्ने प्रयास गरेपछि घटना भएको हो।
अलवाइत समूहको धार्मिक स्थलमा आक्रमण भएको एउटा भिडिओ सार्वजनिक भएपछि अन्य कैयौँ स्थानमा पनि प्रदर्शन भएका छन्।
सिरियाको विद्रोही-नियन्त्रित सरकारका अधिकारीहरूले लडाइँ भूमध्यसागरको तटमा रहेको टार्टुस बन्दरगाहनजिकै मङ्गलवार भएको बताएका छन्।
दमास्कस नजिकैको कुख्यात सैदनाय जेलमा भएका गतिविधिसँग जोडिएको एक पूर्वअधिकारीलाई पक्राउ गर्ने प्रयास गरेका सुरक्षाकर्मीलाई एम्बुसमा परिएको जनाइएको छ।
दुई हप्ता अघि मात्रै राष्ट्रपति असदले सत्ता गुमाएका थिए। सिरियामा हाल इस्लामवादी हायत तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले सत्ता चलाइरहेको छ।
यूके मुख्यालय भएको सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार तीन जना विद्रोही पनि उक्त झडपमा मारिएका थिए।