काठमाडौँ । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भैसकेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ भन्दा पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको हो ।
त्यसबेला उनले आफ्नो श्रेणी (ए) लाइसेन्स जरिवाना सहित नवीकरण गरेका थिए । त्यसपछि नवीकरण गर्नुपर्ने अवधिभित्र उनले लाइसेन्स नवीकरण नगरेको भेटिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । त्यसबारे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले छानबिन गरिरहेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५७ अनुसार चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ । सो ऐन अनुसार उनको चालक अनुमति पत्रको वैधता समाप्त भएको भेटिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एकजना अधिकृतले बताए ।
उनले भने, ‘यसबारे थप छानबिन र कानुनी परामर्श भइरहेको छ ।’ २०१६ (२०७३ पुस १२) मा म्याद समाप्त भएको लाइसेन्स उनले अहिलेसम्म नवीकरण गरेका छैनन् । उनले करिब १० वर्षदेखि आफ्नो लाइसेन्स नवीकरण नगरेका हुन् । म्याद सकिएको ५ वर्षभित्र जरिवाना तिरेर लाइसेन्स नवीकरण गर्न मिल्छ ।
श्रम संस्कृति पार्टीका संस्थापक साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि उनी धरान उप महानगरपालिकाको प्रमुख थिए ।
जेठ २९ मा उदयपुरको उदयपुर गढी गाउँपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल लापरबाही पूर्वक ढङ्गले चलाएको घटनामा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको थियो । ट्राफिक प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले उनको नाममा चिट जारी गरेको हो ।
जेठ २५ मा सो कार्यालयले उनलाई जरिवाना गरिएको जानकारी गराउँदै साम्पाङको नाममा जारी गरेको चिट प्रहरी प्रधान कार्यालयको फेसवुक पेजमार्फत सार्वजनिक गरेको थियो । साम्पाङले एउटा हातले मोटरसाइकलको हेण्डिल समातेर अर्को हातले भिडियो खिचेको दृश्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि सञ्जाल प्रयोगकर्ताले उनलाई कारबाही गर्न माग गरेका थिए ।