ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले गम्भीर सङ्कटको भूमरीमा फसेको बताउँदै यसबाट निकास दिन सबै राष्ट्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरू एक हुनुको विकल्प नभएको बताएका छन् ।
पूर्ववर्ती सरकारको अहङ्कारले देशलाई दुर्घटनाको डिलमा पुर्याएको आरोप लगाउँदै उनले राष्ट्रिय सहमतिबाट मात्रै मुलुकको स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न सकिनेमा जोड दिए ।
शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा अध्यक्ष प्रचण्डले भने,अहिले पनि हामीले अहङ्कारै प्रस्तुत गर्यौँ र आफ्ना कमीकमजोरी स्वीकार्न हिचकिचाउँ भने देश अझ ठुलो दुर्घटनामा जान्छ। राष्ट्र अहिले ठुलो सङ्कटमा छ, देशलाई माया गर्नेहरू एक हुनुको कुनै विकल्प मैले देखेको छैन ।’
उनले राजनीतिक दल, नागरिक समाज, बौद्धिक जगत र प्रेससहित सबै पक्षलाई राष्ट्रिय सहमतिको वातावरण बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरे। देशको हालको परिस्थितिलाई सङ्केत गर्दै उनले भने, यस्तो भयानक एपिसोडबाट देशलाई बचाउन व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बेला आएको छ ।’
माओवादी केन्द्रले केही असहमतिका बाबजुद घोषणा भएको निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पार्दै उनले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन पनि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
यो निर्वाचन सम्पन्न गर्नका लागि पनि सबै राजनीतिक दल, प्रेस जगत, नागरिक समाज एक भएर नलागिकन यो सफल हुन सक्दैन,’ उनले भने ।
अध्यक्ष प्रचण्डले अहिलेको संविधान यथास्थितिमा काम गर्न नसक्ने प्रमाणित भइसकेकोले यसको परिमार्जन र संशोधनका लागि पनि राष्ट्रिय समझदारी अनिवार्य रहेको तर्क गरे ।