काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको ुनेपालले पनि भारतको सिमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ-आफ्नो आसनमा बस्न आग्रह गरेपनि सांसदहरूले नमानेपछि बैठक जेठ २६ गते दिनको सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
राष्ट्रिय सभाको सोमबार र मंगलबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सिमा मिचेको बताएका थिए ।
उनको त्यो भनाइको सर्वत्र विरोध हुँदै आएको छ । बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।