×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

असार र साउनमा मात्रै मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका ४५६ जार नष्ट

असार र साउनमा मात्रै मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका ४५६ जार नष्ट

काठमाडौँ । काठमाडौँ महानगरपालिका मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको छ । महानगरका अनुसार गत असार र यही साउनमा मात्रै मापदण्ड विपरीतका ४५६ वटा जार बरामद गरी नष्ट गरिएको छ । 

बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न कामपाले प्रशोधित पिउने पानीको अनुगमनको क्रममा उक्त जार नष्ट गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।   

पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको पनि उनले बताए । चालु आर्थिक वर्ष सुरु भएपछि कामपाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा अनुगमन गरेको थियो ।  

महानगर, कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानहरूमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो ।

“हामीले बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ । मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ”, न्यौपानेले बताए । 

अनुगमनका क्रममा मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस्