×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ । महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो । पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले बतायो ।

महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । बझाङका स्थायी बासिन्दा महर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका हुन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।

महरलाई ०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो । पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो ।

प्रतिकृया दिनुहोस्