काठमाडौं । आजदेखि सहिद सप्ताह सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित झापा सुखानी आन्दोलनका सहिदहरुको सम्झनामा हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आएको छ । जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।
जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । त्यसैले तत्कालिन नेकपा (माओवादी) ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो । त्यसकै सम्झनामा माओवादी केन्द्रले आज रम्तेलको गृह जिल्ला गोरखामा कार्यक्रम आयोजना गरेको छ ।
प्रथम सहिद रम्तेलसँगै जनयुद्ध, जनक्रान्तिका सम्पूर्ण सहिद र सुखानीका सहिदहरुको सम्झनामा नेपाल कम्युनिस्ट पार्टीले सहिद सप्ताहको अवसरमा फागुन १४ देखि २१ गतेसम्म सहिद परिवार, बेपत्ता योद्धाका परिवार तथा घाइते योद्धाहरुलाई सम्मान अभिनन्दन तथा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि सहिद सप्ताहको अवसरमा माओवादी केन्द्रले तराई मधेस अभियानमै विविध कार्यक्रम गर्ने जनाएको छ ।