×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो

रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो

काठमाडौं । विभिन्न अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि अदालत पेश गरेको छ ।

गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।

राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका त्यस दिनको आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।

मिश्रलाई प्रहरीले पहिलोपटक थुनामा राखेर अनुसन्धान गर्न १६ चैतमा पाँच दिनको अनुमति लिएको थियो । १६ चैतमा पाँच दिनको अनुमति पाएको थियो भने २० चैतमा पुनः सात दिनको म्याद पाएको थियो ।

प्रहरीले २७ चैतमा १५ दिनको म्याद लिएर थुनामा राखेको थियो । यस्तै, १० वैशाखमा तीन दिन, १४ वैशाखमा सात दिन र २१ वैशाखमा पाँच दिनको म्याद पाएको थियो । मंगलबार उक्त समय अवधि सकिएकाले पुनः म्याद थपका लागि जिल्ला अदालत पेस गरेको हो ।

प्रहरीले तीनकुने घटनामा अराजक प्रदर्शन गर्ने, लुटपाट गर्ने करिब ९० जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । त्यसमध्ये २४ जना प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ ।

प्रतिकृया दिनुहोस्