×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक : ९५ प्रतिशत प्रचण्ड र बाँकी ५ प्रतिशत श्रेष्ठ र शर्मा पक्षमा

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक : ९५ प्रतिशत प्रचण्ड र बाँकी ५ प्रतिशत श्रेष्ठ र शर्मा पक्षमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समिति बैठकमा समूहगत नेताहरूले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष सुनाएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको मूल प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पेस गरेको पूरक प्रस्तावमाथि भएको छलफलको निष्कर्ष उनीहरूले सुनाएका हुन् ।

१० वटै समूहमा अधिकांश नेताहरूले प्रचण्डकै नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने सुझाव दिएको एक नेताले बताए । ‘केन्द्रीय समिति विघटन गरी प्रचण्डको नेतृत्वमा आयोजक समिति बनाउनुपर्ने निष्कर्ष टोली नेताहरूले सुनाएका छन् । प्रचण्ड मात्र होइन सबै नेताहरू रूपान्तरण हुनुपर्छ भनेर अधिकांशको सुझाव आएको छ । ९५ प्रतिशत प्रचण्ड र बाँकी ५ प्रतिशत श्रेष्ठ र शर्मा पक्षमा देखिएका छन्’, ती नेताले भने ।

बैठकमा कोसीबाट अजम्बर काङमाङ, मधेसबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, लुम्बिनीबाट सुदर्शन बराल, कर्णालीबाट महेन्द्रबहादुर शाहीले समूहगत निष्कर्ष सुनाएका थिए । 

यसैगरी सुदूरपश्चिमबाट हरि ज्ञवाली ‘अखण्ड’, उपत्यका विशेष प्रदेशबाट जगत सिम्खडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास तथा आयोगबाट आरबी खड्काले समूहगत निष्कर्ष सुनाए । टोली नेता सबै प्रचण्ड पक्षधर नेताहरू हुन् ।

समूहगत छलफलको निष्कर्ष सकिएपछि अहिले पदाधिकारीहरूले आ–आफ्ना धारणा राखेका छन् । बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि आजै सकिनेछ । बिहीबार बसेको बैठकमा प्रचण्डले टिको लगाएर नेतृत्व हस्तान्तरण गर्न नसकिने जवाफ दिएका थिए । 

श्रेष्ठले महाधिवेशन फागुनपछि गर्नुपर्ने र त्यतिबेलासम्म कार्यवाहक आफूलाई दिनुपर्ने प्रस्ताव गरेका थिए । शर्माले सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समितिमा रहनुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए । 

प्रतिकृया दिनुहोस्