काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकोल लोडर उपकरण पुर्याइएको छ ।
भदौ १० गते आएको बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएकोमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि १७८ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजीका लागि सोमबारसम्म पनि प्रयास जारी छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार यसअघि साना एस्काभेटर प्रयोग गरेर आयोजनाको आवास तथा कार्यालय क्षेत्रमा उत्खनन गरिँदै आएको थियो । ठूला मेसिनरी उपकरण लैजान नसक्दा खोजी कार्यमा अपेक्षित प्रगति हुन सकेको थिएन ।
धेरै दिनको प्रयासपछि आयोजनाको अडिट तथा मुख्य सुरुङ सफा गरेर तीन वटा ठूला एस्काभेटर आयोजनाको कार्यालय तथा आवास रहेको बाढी प्रभावित क्षेत्रमा पुर्याउन सम्भव भएको हो । तीमध्ये दुई वटा एस्काभेटर यसअघि माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको खोजी तथा उद्धारमा प्रयोग गरिएका हुन् भने एउटा प्रवद्र्धक कम्पनीले व्यवस्थापन गरेको हो ।
अहिले ठूला एस्काभेटर र ब्याकहोल लोडरमार्फत बाढीले पुरिएका क्षेत्रमा जमेको लेदो, ठूला ढुंगा तथा माटोको थुप्रो हटाएर उत्खनन भइरहेको छ । मंगलबारसम्ममा नदीले पुरेको कार्यालय र आवास क्षेत्रको वास्तविक अवस्था पत्ता लाग्ने अपेक्षा गरिएको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले समेत आयोजनास्थलमा खोजी कार्य जारी रहेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । उनका अनुसार भदौ १० गतेदेखि नै खोजीको प्रयास थालिएको थियो । भदौ १३ गते चिनियाँ टोलीले आयोजनास्थलको रेकी गरे पनि दलदलका कारण खोजीका उपकरण लैजान सकिएको थिएन ।
हाल आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेको प्रधानमन्त्री शाहले बताएका छन् । उक्त टोली सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङभित्र १।७ किलोमिटरसम्म प्रवेश गरेको थियो । त्यस क्रममा सुरुङभित्र एउटा गाडी फेला परेको थियो ।
आयोजनाका ६ वटा आवासीय भवन र एउटा कार्यालय भवन बाढीले पुरिएका छन् । ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको प्रधानमन्त्री शाहले जनाएका छन् ।
खोजी कार्यका लागि थप उपकरण आयोजनास्थलमा लैजाने क्रम जारी रहेको छ । बाढीले ल्याएको लेदो र ठूला ढुंगा–माटोका कारण चुनौतीपूर्ण बनेको खोजी कार्यमा ठूला मेसिनरी उपकरण पुगेपछि पुरिएका संरचना तथा सम्पर्कविहीनहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।