काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सरसफाइका लागि दुई दिन बन्द गरिएको छ । बाढीपहिरोले क्षति पुर्याएपछि झण्डै तीन महिनासम्म बन्द भएको यो जलविद्युत् आयोजना मर्मतपछि ९ पुस बेलुकादेखि आंशिक सञ्चालनमा आएको थियो ।
तर संरचनामा सरसफाइ लगायतका काम गर्न शनिबार बिहान सात बजेदेखि आइतबार बेलुका आठ बजेसम्मका लागि आयोजना बन्द गरिएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले यो आयोजनामा क्षति पुर्याएको थियो भने चार जनाको ज्यान पनि गएको थियो । क्षतिग्रस्त संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको थियो । त्यतिबेला नदीमा उपलब्ध पानीको बहावलाई पूर्णरुपमा प्रयोग गरी दैनिक औसत १२० मेगावाट मात्र विद्युत् उत्पादन गरिएको थियो ।
नेपालमा सञ्चालनमा रहेका जलविद्युत् गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र दोलखाको बिगु गाउँपालिका १ मा पर्दछ ।