काठमाडौँ । मोटोरोलाले आफ्नो जी(सिरिजका नयाँ स्मार्टफोन मोटो जी०६ र मोटो जी०६ पावर ल्याएको छ । यी मध्ये जी०६ पावरमा ७,००० एमएएच क्षमताको ठुलो ब्याट्री राखिएको कम्पनीले जनाएको छ । मोटोरोलाका अनुसार यस ब्याट्रीले एक पटक चार्ज गर्दा २८ घण्टासम्म भिडिओ प्लेब्याक गर्ने क्षमता राख्छ । साथै, १,००० पटक चार्ज गरेपछि पनि ब्याट्री हेल्थ ८० प्रतिशतसम्म कायम रहने दाबी गरिएको छ । तर, ठुलो ब्याट्री भए पनि यसमा १८ वाट क्षमताको मात्र चार्जिङ सुविधा उपलब्ध हुनेछ ।
यता मोटो जी०६मा भने ५२०० एमएएच ब्याट्री दिइएको छ, जसले १० वाट क्षमताको चार्जिङ मात्र सपोर्ट गर्नेछ । यी दुवै स्मार्टफोनमा ६.८८ इञ्चको आईपीएस एलसीडी डिस्प्ले दिइएको छ । जसले एचडी प्लस रेजोलुसन र १२० हर्ज रिफ्रेस रेट दिन्छ । डिस्प्लेमा ६०० निट्स ब्राइटनेस पुग्ने दाबी गरिएको छ भने कोर्निङ गोरिल्ला ग्लास थ्री सेक्युरिटी पाइन्छ ।
यी फोनमा मिडियाटेक हेलियो जी८१ चिपसेट प्रयोग गरिएको छ । मेमोरी क्षमताका हिसाबले ४ वा ८ जीबी र्याम र ६४, १२८ तथा २५६ जीबी स्टोरेज विकल्प उपलब्ध छन् । स्टोरेज बढाउन माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिनेछ । पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामेरा र अगाडि ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । यी दुवै फोनमा आईपी६४ धुलो र पानी प्रतिरोध सुविधा, डल्बी एट्मस प्रविधिसहितका स्टेरियो स्पिकर र ३।५ एमएम हेडफोन ज्याकसमेत रहेको छ ।
यी दुई स्मार्टफोनको मूल्य र बजारमा उपलब्ध हुने मितिबारे मोटोरोलाले अझै कुनै जानकारी सार्वजनिक गरेको छैन ।