काठमाडौं । फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन् । उनीहरु आज बिहान मेक्सिको जाँदै थिए । उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको अध्यागमन स्रोतले बतायो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले भने, ‘उहाँहरु ब्ल्याक लिस्टमा रहेकाले हामीले आज बिहान विमानस्थलबाट फर्काइदिएका हौँ ।’
आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद ९राखेप०को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।
फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेपमै पुगेका थिए । तर राखेपले उनीहरुलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको थियो ।