काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केहिबेर अघि सुरु भएको छ । जेनजी आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । बैठक एजेन्डाबारे थप खुलाइएको छैन ।
जेनजी आन्दोलनपछि माओवादीभित्र पनि पुन नेतृत्व रुपान्तरणको बहस चर्किन थालेको छ । पार्टी उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमै अध्यक्ष प्रचण्डको राजीनामा मागिसकेका छन् ।
तर, संस्थापन पक्षका नेताहरूले भने अझै पनि नेतृत्वमा प्रचण्डको विकल्प खोज्ने बेला नभएको तर्क छाडेका छैनन् ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले माओवादीको पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरेका थिए ।
सरसफाइ गरेर माओवादीले पार्टी कार्यालय पुनस् सञ्चालनमा ल्याएको छ । जेनजी प्रदर्शनका दिन अध्यक्ष प्रचण्डको निवाससहित अन्य अन्य नेतहरूको घरमा समेत तोडफोड र आगजनी भएको थियो ।